Public Pana

चितवनको भरतपुर महानगरपालिका ९, स्थित टिकौली जंगलमा आज बुधबार ठूलो सवारी दुर्घटना भएको छ ।
 

टिकौली जंगलमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रत्यक्षदर्शी चितवनाका कुलराज अधिकारीले जानकारी दिए ।

घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको छ । 

सख्त घाइते हुनेमा चितवनको खैरहनी नगरपालिका ४ बस्ने ६५ वर्षीय कृष्णबहादुर तामाङ, खैरहनी १ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका १४ का ५५ वर्षीय कुसुमबहादुर राना, रत्ननगर–१४ का ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर ९ बस्ने ३५ वर्षीय किशोर तामाङ, रत्ननगर १४ का ५५ वर्षीय डोलबहादुर कार्की र मकवानपुर हेटौंडा १४ का ६५ वर्षीय मोहन तामाङ छन् ।

अन्य १३ जना घाइतेहरुको अवस्था मध्यम छ ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.१क ६१३१ नम्बरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना.२च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६–००१प ९९८१, बा.प्र ०३–००५ प ९७, ,ना.६२प ६०३२, बा.प्र. ०३–००१प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा. प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नम्बरको स्कुटरसहितका सबै सवारीसाधन आपसमा ठक्कर खाएको थियो । प्रहरीले कलेज बसका चालक नवलपुरको गैंडाकोट नगरपालिका ९ का २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update