Public Pana
चीनका सेना फर्किए लगत्तै हेलिकप्टर लिन भदौ ७ गते प्रधानसेनापति शर्मा दिल्ली जाने

भारतले नेपाली सेनालाई दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) अनुदानमा दिने भएको छ ।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई अनुदान सहायतास्वरुप दिइने ‘ध्रुव’ नामका दुई एडभान्स लाइट हेलिकोप्टरको सम्झौताका लागि प्रधान सेनापति प्रभुराम शर्मा भदौ ७ गते भारत जाँदैछन् ।

उनी भदौ ११ सम्म त्यहीँ रहनेछन् ।

भारत भ्रमणका क्रममा शर्माले त्यहाँका सुरक्षा प्रमुख अनिल चौहान र भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गर्नेछन् । 

जनरल अनिल चौहान भारतका दोस्रो सुरक्षा प्रमुख हुन् । नेपाली सेनालाई दुईवटा हेलिकोप्टर दिने सम्झौता भए पनि नेपाल आउन केही महिना लाग्ने भारतीय स्रोतले जनाएको छ । 

यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए । 

त्यसबेला मोदीले एउटा एडभान्स लाइट हेलिकोप्टर अनुदान सहयोग दिएका थिए, जुन हेलिकोप्टर नेपाली सेनाले प्रयोग गर्दै आएको छ ।

त्यसअघि २०१३ मा पनि यही दुईवटा हेलिकोप्टर भारतले नेपाली सेनालाई दिएको थियो । 

५.५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ । 

जुन यसअघि भारतले मौरिसस, मालदिभ्स र इक्वयडरलाई पनि दिएको छ। यो हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update