Public Pana
चिनियाँ सेनाको टोली आज काठमाडौं आउँदै

चिनियाँ सेनाको एक टोली आज बुधबार नेपाल आउँदै छ ।

चीनको तिब्बत मिलिट्री कमाण्डका डेपुटी कमाण्डर यु एन दे नेतृत्वको टोली ५ दिने भ्रमणका लागि आज दिउँसो काठमाडौं आउन लागेको हो ।
 

नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।
 

काठमाण्डौं आज आउन लागेका युले सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , रक्षामन्त्री पुर्ण बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 
 

टोलिले नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजमा भ्रमण गर्ने समेत कार्यक्रम रहेको बुझिएको छ ।

भ्रमणको क्रममा नेपाल र चीनबीच रोकिएको सैन्य अभ्यास र सैनिक सहकार्यका विषयमा समेत छलफल हुने कार्यक्रम रहेको बताइएको छ । साथै चीनबाट खरिद गर्न लागिएको एपीसी र सैनिक सामाग्रीको विषयमा समेत छलफल हुनेछ ।

सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update