Public Pana
कास्कीका विद्यालयमा आज सार्वजनिक बिदा

ट्होंटे पर्वको अवसरमा आज मंगलबार कास्कीका विद्यालयमा बिदा हुने भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले सूचना जारी गर्दै गुरुङ समुदायको परम्परागत पर्व ट्होंटेको अवसरमा मंगलबार विद्यालयहरुमा बिदा हुने जनाएको हो ।

तमु धीं नेपालको अनुरोधपछि स्थानीय बिदाबाट कट्टा हुने गरी आज मंगलबार बिदा दिन पत्रचार गरिएको इकाइ प्रमुख लोकराज आचार्यले जानकारी दिए ।

‘विगतमा प्रदेशमा बिदा दिइएको थियो । पहिले शिक्षा कार्यालयले दिने गरेको थियो’, उनले भने, ‘स्थानीय तहका शिक्षा प्रमुखहरुसँग समन्वय गरेर सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरु सहभागी हुने र संस्कृति बुझ्ने भन्दै अनुरोध आएकाले पत्राचार गरेका छौं ।’

ट्होंटे पर्वको अवसरमा मंगलबार रानीपौवामा भेला भएर झाँकी, बाजागाजासहित महेन्द्रपुल, नयाँबजार हुँदै तमु धींको कार्यालयमा आएर ¥याली सभामा परिणत हुने तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले जानकारी दिए ।

तमु धीमा पोखरा महानगर र संस्थाको लगानीमा बनेको ‘रोधी हल’समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखरामा तमु संघ, संस्थाहरको अगुवाइमा साउन र चैत महिनाको अन्तिम मंगलबार ट्होंटे मनाउने गरिएको छ ।

विगतमा गाउँबस्तीलाई सुरक्षित राख्न, दृश्य, अदृश्य वैरी हटाउन मनाइने ट्होटेको स्वरुप अहिले फेरिएको छ ।

‘अहिले पनि विभिन्न खालका सामाजिक विभेद छन्, विकृति, विसंगति छन् । सामाजिक न्याय छैन’, तमु धीं नेपालका अध्यक्ष गुरुङले भने, ‘तमुले समान अधिकार प्राप्त गरेका छैनन् । सबै नकारात्मक कुरालाई समाजबाट हटाउँदै समतामूलक समाजको माग गर्दै हामी ट्होंटे मनाउँदै छौं ।’
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update