नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका थप १८ जना पीडितहरु उजुजरी लिएर प्रहरीकहाँ पुगेका छन् ।
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १८ जना पीडितहरुको जाहेरी आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सानु भण्डारी र केशव दुलाल समेतको मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै आफूहरुलाई ठगिएको गुनासोसहित पीडितहरुले जाहेरी दिएकाा हु्न ।
अपराध महाशाखाका अनुसार लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौं लगायतका १८ जना पीडितहरुको जाहेरी आएको हो ।
उनीहरुले आफूहरुबाट करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनेर ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका हुन् ।
महाशाखाले उक्त जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाएको छ ।
यो प्रकरणमा अहिले पूर्वउपप्रधामन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना केन्द्रीय कारागार सुन्धारामा छन् ।