Public Pana
कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामको जस - अपजस आफूले लिनुपर्ने : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गरेका छन् । जारी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति थापाले आशंका व्यक्ति गरे ।

बैठकमा उनले भने, ‘यो तस्करी सानो मान्छले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’

प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई छानबिनमा सघाउन लगाउनुको सट्टा पार्टी बैठकमा स्पष्ट पार्नु भनेकोप्रति गगनले असन्तुष्टि जनाए । हिजो आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई सुन प्रकरणको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्न भनेका थिए ।

उनले भने, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनुपर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।’

उनले प्रधानमन्त्री आफ्नो पार्टीको नभएपछि यो सरकार कांग्रेस नेतृत्वको भएको दाबी गरे ।


उनले भने, ‘यो सरकार हाम्रो नेतृत्वको हो । हाम्रो प्रधानमन्त्री नभएपनि सरकारले गरेको राम्रो–नराम्रो कामको जस-अपजस हामीले पनि लिनुपर्छ ।’
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update