Public Pana
सुनसरीमा डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

डेंगी संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या ११ पुगेको छ ।

सुनसरीको धरानमा डेंगी संक्रमण महामारीका रुपमा फैलिएको छ । मृतक ११ जनामध्ये एकजना उदयपुरको कटारी नगरपालिकाकी महिला र बाँकी सबै धरानका हुन् ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ की ४६ वर्षीया एक महिलाको साउन १७ गते र धरान ११ का २१ वर्षीय पुरुषको साउन १८ गते मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै जनाको १० दिनअघि नै मृत्यु भए पनि गएराति मात्रै डेंगीकै कारणले मृत्यु भएको पुष्टि भएको मेहेताले जानकारी दिए । झन्डै १० हजारभन्दा बढी डेंगी संक्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये अहिले ७१ प्रतिशतभन्दा बढीमा पुष्टि हुने गरेको छ ।

धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजी क्लिनिकमा पनि बिरामीको चाप बढेको छ ।

बिरामीको चाप बढेपछि अधिकांश वडा कार्यालयले पनि आफ्नै पहलमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याए पनि त्यो पर्याप्त हुन सकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update