Public Pana
डुबानमा बर्दियाका  ४३ घर 

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा सहित मुलुकका विभिन्न स्थानमा बिहानैदेखि अविरल झरी परिरहेको छ ।

कतिपय स्थानमा भने भारी वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । भारी वर्षाले नदीहरुमा जल सतह बढ्ने र त्यसले तटीय क्षेत्रमा थप जोखिम निम्त्याउने खतरा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ४५ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको र ठूला नदीहरुमा जलसतह सतर्कता तहभन्दा माथि पुग्न सक्ने पनि महाशाखाले जनाएको छ ।

यसै कारणले आज आइतबार बिहानैदेखि परेको अविरल वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका ८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर डुबानमा परेको छ । भारी वर्षाले बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानीय खोलाबाट बगेको पानीले घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बिहानदेखि परेको वर्षा दिउँसो १ बजेसम्म रम्भापुरमा २२६ दशमलव ४ मिलिलिटर पानी परेको छ । यसैगरी चेपाङस्थित बबई नदीको जलमापन केन्द्रमा १७२ दशमलव ८ मिलिलिटर पानी परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

भारी वर्षाले सुर्खेत जोड्ने बर्दिया बाँसगढी नगरपालिका १ रत्न राजमार्गस्थित झर्रो खोलामा पहिरो जाँदा यातायात सेवा बन्द भएको छ । त्यहाँ सडक खुलाउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । 

यसैबीच लगातार परिरहेको पानीले बबई र कर्णालीमा जलस्तर बढिरहेको छ । बबई र कर्णाली तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले जनाए ।

barsha1691924532.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update