Public Pana
आफ्नो संलग्नता प्रमााणित गरे पदमा नबस्ने अर्थमन्त्री महतको दाबी

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए ।

कांग्रेस संसदीय दलको आज आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।
तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’

डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसोभए जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ अर्थमन्त्री पदमा बस्दिनँ ।’

यदि आफूले लोभलालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए ।
तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए ।

सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्रयाक रेकर्ड र संस्कार दुवै नभएको उनले बताए ।
यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए ।

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update