Public Pana
नेपालका सात बालबालिकाको भारतबाट उद्धार

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ ।

विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।

दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो । ती बालबालिका विभिन्न बाहना तथा प्रलोभनमा भारत लगिएको थियो । १ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

बालबालिकाको उद्धार र स्वदेशफीर्तिमा प्रत्यक्ष संलग्न संस्था केआइएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीनजना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहबरमा पारिवारिक पुनःमिलन गराइएको छ । एक बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ ।

तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । बालबालिका भारतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवस गृहमा राखिएको हो । उद्धार गरिएकामध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पािरएको केआइएनका निर्देशक जोशीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update