Public Pana
फुटबलमा जस्तै अब क्रिकेटमा पनि “रेड कार्ड” !

अब क्रिकेटमा पनि “रेड कार्ड” को प्रयोग हुने भएको छ । फुटबलमा जस्तै “रेड कार्ड” वेस्ट इन्डिजको  क्यारेबियन  प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । 

सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा ’रेड कार्ड’ को प्रयोग गरिने समाचारमा जनाइएको छ । 
यदि कुनै टिमले तोकिएको समयभित्र आफ्नो कोटाको २० ओभर पूरा नगरेमा स्लो ओभर रेट अन्तर्गत यो नियम लागू हुने भएको छ । आउँदो बिहीवारदेखि शुरु हुने प्रतियोगितामा यो नियम पहिलो पटक प्रयोग हुन लागेको हो ।

सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ’रेड कार्ड’ को नियम लागू गरिएको बताए ।

सीपीएल आयोजकको नियमअनुसार १८ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि ’स्लो ओभर रेट’ देखिएका फिल्डिङ टोलीको एक अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ५ जना खेलाडी हुनेछन् । 

यसैगरी १९ औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि स्लो ओभर रेट देखिएमा फिल्डिङ टोलीको २ अतिरिक्त खेलाडीलाई ३० यार्डको घेरामा बोलाइनेछ । यसो हुँदा ३० यार्डभित्र ६ जना खेलाडी हुनेछन् ।

यसैगरी २० औँ ओभरको खेल शुरु हुनुभन्दा अगाडि स्लो ओभर रेट देखिएमा फिल्डिङ टोलीको १ जना खेलाडीलाई मैदान बाहिर पठाइनेछ । बाहिर को खेलाडी जाने भन्ने कप्तानले चुन्नेछन् । यस्तै सर्कलभित्र ६ जना खेलाडी रहनेछन् । 
खेल सधैँ फिल्डिङ गर्ने टिमका कारण मात्रै लम्बिँदैन । कहिलेकाहीँ ब्याटिङ गर्ने टिमका कारण पनि खेल लम्बिने गर्छ । यस्तो अवस्थामा अम्पायरले पहिलो तथा अन्तिम चेतावनीपछि ब्याटिङ गर्ने टिमले बदमासी गरेको पाएमा जरिवाना स्वरूप ५ रन घटाउने छन् ।

कुनै पनि टी–२० खेलमा एक पारी ८५ मिनेटको हुन्छ । नियमअनुसार १७ औँ ओभर ७२ मिनेट १५ सेकेन्ड, १८ औँ ओभर ७६ मिनेट ३० सेकेन्ड, १९ औँ ओभर ८० मिनेट ४५ सेकेन्ड र २० औँ ओभर ८५ मिनेटमित्र पूरा हुनुपर्छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update