Public Pana
विदेशीलाई बन्धक बनाएर लाखौँ रकम लिने नेपाली सहित ७ जना पक्राउ

बंगलादेशिलाई बन्धक बनाएर लाखौं रकम असुल गर्ने नेपाली सहित ७ जना पक्राउ परेका छन् । 

मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले ५ जना बंगलादेशी र २ जना नेपाली सहित सातजनालाई पक्राउ गरेको हो । 

गत असार २८ गतेदेखि नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा बन्धक बनाएर १० लाख बंगलादेशी टाका रकममा पोल्यान्ड सहितका  देशमा पठाइदिने आश्वासन दिदै रकम असुली गरेको प्रहरीले जनाएको छ । 

रकम नआएपछि उनीहरुले ती बंगलादेशीहरुलाई कुपटि गरेको, हप्काएको र यातना दिएको भिडिओ पठाएर धम्की दिएको महानगरी प्रहरी अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा इलामो चुलाचुली गाउँपालिका–७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशीन राई छिन् । 

यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली ,बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहाङ्गिर आलम, बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

त्यसैगरी बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update