Public Pana
त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा विदेशवाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । 

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल वुझाइ सजिलै लैजान पाउने छन् । 

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउने भएका छन् ।

त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारी सहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको छ । यसअघि त्यस्तो कक्ष नहुदा यात्रु मापदण्ड भन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।

त्यतिमात्र होइन, विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन गरगहना विदेशी मुद्रा टिभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छली अनुसार कारवाहीको भागीदार हुने गरेका छन् ।

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।

यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update