Public Pana
हेटौँडा–काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । 

भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ । 
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताउनुभयो ।

त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका–११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
भारी वर्षाका कारण हेटौँडा–४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update