Public Pana
वर्षाले हवाई उडान प्रभावित, ‘डाइभर्ट’ र रद्द

गएरातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द गरिएका छन् । 
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए ।

उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फुबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फुमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ ।

विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीनवटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update