Public Pana
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् ।

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । 
 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज शनिबार आयोजित अन्तर्क्रिरया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् ।
 

विसं २०७८ फागुन १ देखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो ।
 

प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तर्क्रिरयामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताए ।
 

ट्याक्सी व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको भन्दै इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीले मिटर प्रणालीमा आउने समस्यालगायत विषयमा सरकार गम्भीर बन्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिए । 
 

दुई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रूपैयाँ ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० रूपैयाँ  तोकिएको छ । १५ किलोमिटरभन्दा बढीको दूरीमा प्रतिकिलोमिटर ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा गरिएका प्रतिबद्धतालाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताए ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update