Public Pana
अझै खुलेन कालीगण्डकी करिडोर

 भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो ।

शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ ।

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन् ।

दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

“पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्”, उहाँले भन्नुभयो, “यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम सुरु भएको छैन ।” पहिराले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पु¥याएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update