Public Pana
सरकारले सुशासन कायम गर्न नसकेको शेखर कोइरालाको दाबी

सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार नटिक्न दाबी गरेका छन् ।
 

नेपाली कांग्रेस भक्तपुर–२ प्रदेश सभा (ख)ले आज शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनु पर्ने आवश्यक रहेको बताए ।
 

उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा नेपालमा लगानीका लागि भ्रष्टाचार मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्ता गठबन्धन र सरकारले जोड दिनु पर्ने बताए ।
 

नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन समस्या नहुने बताएका थिए ।
 

‘अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ, नेपालमा प्रचुर सम्भावना छ भन्छ, फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ, तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ, दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ,’ उनले भने ।
 

यस क्रममा नेता कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update