Public Pana
क्विन्टल सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ परेका व्यवसायी रोहन र दुई चिनियाँ नागरिक रिहा

त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया र दुई चिनियाँ छुटेका छन् ।

उनिहरुलाई विमानस्थल अध्यागमन कार्यालयले आज शनिबार बिहान छाडेको हो ।
हिजो शुक्रबार रोहनलाई दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

सुन तस्करी प्रकरणमा आफूहरूको खोजीको सूचीमा नरहेको भन्दै राजस्व र सीआईबी दुवैले उनलाई जिम्मा लिन अस्वीकार गरेका थिए। दुवै निकायले बुझ्न नमानेपछि शनिबार उनलाई छाडिएको हो ।

यस्तै हिजो शुक्रबार काठमाडौंबाट पक्राउ परेका ली जियालिङ र लिउ फुयान नामका दुई चिनियाँ नागरिकलाई घटनामा संलग्नता नदेखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आजै शनिबार बिहान रिहा गरेको हो ।

राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो ।

तर पछि उनीहरूको संलग्नता नदेखिएको भन्दै छाडिएको हो ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update