Public Pana
आवश्यकता युवा उद्यमशिलता

वि.स. २०५६ अर्थात् सन् १९९९ को अगस्ट १२ तारिखको दिन देखि “अन्तराष्ट्रिय युवा दिवस” विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तराष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो ।

हरेक वर्ष अगस्ट १२ को दिन विभिन्न युवा सम्बन्धी नाराहरूका साथ अन्तराष्ट्रिय युवा दिवस मनाउने चलन रहेको छ ।
 

यद्यपी सन् १९८५ मा भएको अन्तर्राष्ट्रिय युवा वर्षले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा भनी परिभाषित गरेको छ ।
 

विश्व स्वास्थ्य संगठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणवाट १५ देखि २९ वर्ष उमेरसम्मको समूहलाई युवा भनेर व्याख्या गरेको छ ।
 

राष्ट्रिय युवा नीति २०६६ मा युवा भन्नाले १६ देखि ४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरुलाई जनाउने उल्लेख छ ।
 

नेपालको पछिल्लो जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको युवाको संख्या १ करोड २४ लाख १२ हजार १ सय ७३ रहेको छ । यो नेपालको कूल जनसँख्याको ४२.५६ प्रतिशत हो । जुन २०६८ को जनगणनामा १ करोड ६ लाख ९० हजार रहेको थियो ।

यो त्यतिखेर नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत थियो । नेपालकोे इतिहासमा युवाको जनसंख्या उल्लेख्य रहेको पहिलो पटक हो । उर्जाशील मानव स्रोतसाधनमा युवाको युग बनेको छ जनसंख्या गणना २०७८ बाट ।
 

जनगणनानुसार आर्थिक काममा संलग्न १,४९,८३,३१० रहेका छन् ।

यसमा पनि बाहुल्यता युवाकै छ । विकास तथा परिवर्तनका लागि युवाको योगदान छ । युवा आर्थिक काममा संलग्न भएपनि सबै राजनीतिक पार्टीले युवालाई प्रतिकुलतामा राखेका छन् । 
 

नेपालको वि.स.२०४६ र २०६२—६३ सालको जनआन्दोलनमा युवा नै रहेका छन् । होस्, दुबै राजनितिक जनआन्दोलनहरुमा बेरोजगारीले आक्रान्त युवाहरुको सहभागिता निर्णायक भएको पाइन्छ । तर पनि पर्ख र हेरको स्थितीमा नेपालका युवा रहदा बेरोजगार बन्न पुगेका छन् । युवाहरू आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका संवाहक भएकोले राष्ट्र निर्माणमा अग्रसर गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको छ ।

नेपालको हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरूमा युवाहरूको महत्वपूर्ण योगदान रही आएको छ । 
 

योजना आयोग, बजेट, युवा तथा साना व्यवसायी सुरक्षा कोष, राष्ट्रिय युवा परिषद, खेलकुद तथा युवा मन्त्रालयले सिद्धान्त र प्राथमिकतामा युवा पुस्तालाई पूर्णता दिन नसकेको देखिन्छ । युवा परिषदले केही संकेत गरेपनि बजेट तथा कार्ययोजनामा अझै पछि परेको प्रष्ट छ ।
 

बैदेशिक सहायतामा युवाको दश वर्षे युवा मैत्री स्थानिय तह दिग्दर्शनमा युवाका लागि रोजगारी, उद्यमशिलता र सीप विकासलाई पनि पहिलो स्थानमा राखेको छैन युवा परिषदले । यद्यपी अन्तराष्ट्रिय युवा दिवसको अवसरमा परिषदले ७५ हजार रुपैयाँ बराबरको टिकटक प्रतियोगिता राख्नु राम्रो हो, युवा उद्यमशिलता बन्नका लागि ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ ६ सय ५७ सदस्यीय गठन भएको छ ।

राष्ट्रिय युवा परिषद्को नेतृत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवा केन्द्रित सङ्घसंस्थाका प्रतिनिधि, परिषद् सदस्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि लगायत छन् ।

परिषद्को आयोजनामा यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । दिवस मनाऔं तर युवाको विकासका लागि पनि अघि बढ्नुपर्छ, त्यसको लागि युवा उद्यमशिलतामा जोड दिन आवश्यक छ ।
 

‘हचिन्स कमिसन’ (‘कमिसन अन फ्रिडम अफ द प्रेस’)ले सन् १९४७ मा समाजप्रति उत्तरदायी हुनु प्रेसको नैतिक दायित्व हुन्छ भने झै, युवालाई उद्यमशिलतामा लगाउनु सरकार, राजनीतिक पार्टी र समाजको उत्तरदायित्व हो । अनिमात्र नेपालको विकास हुनेमा दुविधा छैन । 
 

अझै पनि युवा लक्षित बजेट आउन नसक्नु, नेपाली युवा विदेशमा गएर पठाएको रेमिट्यान्सबाट अर्थतन्त्र चल्नु, युवाहरूलाई स्वदेशमा नै काम गर्ने योजनामा नेपाल पछि परेको देखिन्छ । नयाँ राजनीतिक पार्टीमा युवा पुस्ताको बाहुल्यता भएपनि संसदमा कराउने बाहेक निर्णायक कार्यमा सरकालाई दबाब दिन सकेका छैनन् ।
 

सिद्धान्त र विचारको दृष्टिकोणमा खासै फरक नभएको नयाँ पार्टीको उदयले राजनीतिबाट युवाका लागि युवा भएर व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । युवाका योजना निर्माण गरी कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन र अवसरलाई तदारुकता देखाउनुपर्ने आवश्यकता छ । 
 

मुलुकमा रोजगारीको अवसर न्युन भएकाले, युवाहरुहरुमा देश र राजनीतिप्रति वितृष्णा, आक्रोस, असन्तुलित र नकारात्मक धारणाको विकास भएको छ । हरेक युवाको चाहना असल समृद्ध नागरिक बन्ने हुन्छ । हरेक युवाको चाहना परिवार पाल्न सक्ने वातावरणको खोजी हो । तर, चाहना, आवश्यकता र वातावरणबीच सन्तुलन नहुँदा आज धेरै युवाहरु लक्ष्यविहिन बन्न पुगेका छन् । नेपाली युवाहरु दिशाहिन बन्न पुगेका हुन् । युवा दिशाहिन हुनु भनेको समग्र राष्ट्र नै दिशाहिन हुनु हो ।
 

युवाहरू आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका संवाहक भएकोले यस वर्गलाई राष्ट्रिय नीतिबाट विशेष रूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको छ । गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update