Public Pana
रोहन अडुकियालाई बुझ्न मानेनन् राजश्व र सिआईबीले, विमानस्थलै फर्काइयो

१०० केजी सुन प्रकरणमा शुक्रबार पक्राउ परेका ३० वर्षीय रोहन अदुकियालाई राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लेले जिम्मा लिन अस्वीकार गरेका छन् । तस्करी प्रकरणमा आफूहरुको खोजीको सूचीमा नरहेको भन्दै सिआईबी र राजश्वले उनलाई लिन अस्वीकार गरेका हुन् ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख अर्जुन चन्द ठकुरीले अदुकियालाई बुझ्न नमानेपछि विमानस्थलनै फर्काइएको जानकारी दिए ।

अदुकियालाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले अध्यागमन विभागमा पत्र पठाएको थियो। राजस्वको पत्रअनुसार अदुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो।

शुक्रबार उनी दिल्लीबाट काठमाडौं उत्रिएपछि चेकजाँच गर्दा अध्यागमनको टोलीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।

राजस्वले नै पक्राउ गरी बुझाउनु भनी पत्र पठाएकाले उनलाई शुक्रबार नियन्त्रणमा लिएर त्यही कार्यालयमा पठाइएको थियो।

तर सुन तस्करी प्रकरणको अनुसन्धान राजस्वले एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाइसेकाले उनलाई लिन अस्वीकार गरेको हो।

अदुकिया एयर इन्डिगोको उडान नम्बर ६ ई ११५३ मार्फत काठमाडौं ओर्लिएका थिए ।

‘ब्रेक शु’भित्र लुकाएर तस्करी भएको भनिएको एक क्वीन्टल सुनमा कनेक्सन देखिएको भन्दै राजश्व अनुसन्धान विभागले उनीसहित उनका बुबा व्यवसायी राकेश अडुकियालाई समेत कालोसूचीमा राख्न पत्राचार गरेको थियो । त्यही आधारमा शुक्रबार अध्यागमन विभागले उनलाई पक्राउ गरेको थियो ।

तर, विभागले उनलाई बुझ्न मानेन । विभागका महानिर्देशक नवराज ढुंगानाले ‘त्योसँग सरोकार राख्ने विषय सबै सीआईबीतिर गएपछि आफूहरुको सरोकारको विषय नभएको’ प्रतिक्रिया दिए ।

सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले आफूहरुको अनुसन्धानबाट हालसम्म अडुकियाको नेक्सस नखुलेको बताइन् ।

‘कुनै तथ्यविना नियन्त्रणमा लिएर राख्ने कुरा भएन । भोलि अदालतबाट म्याद थप गर्न सकिने आधार हुनुपर्छ’, उनले भनिन्,‘त्यसैले नियन्त्रणमा नलिएका हौं ।’

सीआईबीले पनि अडुकियालाई लिन नमानेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनलाई फिर्ता लगेको छ । उनको विषयमा अब के गर्ने भन्ने स्पष्ट भइनसकेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले बताए ।

विभागले ३ साउनमा सुन लुकाइएको १५५ किलो‘ब्रेक शु’ बरामद गरेको थियो । १९ दिनपछि प्रकरणमा संगठित अपराध आकर्षित हुने भन्दै सीआईबीलाई थप अनुसन्धानको जिम्मा लगाइएको थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update