Public Pana
सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँधेको कांग्रेस सांसदहरूको आरोप

नेपाली कांग्रेसका सांसदहरूले पार्टीका सांसद सुनिल शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको आरोप लगाएका छन् ।

नयाँ वानेश्वरस्थित संसद् भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको बताए ।
बैठकपछि सांसद प्रदीप पौडेलले सञ्चारकर्मीहरूसँग दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयबारे छलफल भएको बताए । ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ ।

जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन ? उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ,’ पौडेलले भने, ‘बैठकमा यसबारे छलफल भएको छ ।’

दलको बैठक छलफल मात्रै गरेर निर्णय नगरी आइतबारसम्म स्थगित भएको छ । पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोल्दा अमुक पार्टीको मान्छे प-यो भने कारबाही गर्ने, तर आफ्नो पार्टीको भने कारबाही नगर्ने भन्ने भयो भने परिस्थिति असहज हुने बताए । ‘अहिले विभिन्न प्रकरणमा ज–जसको नामहरू आइरहेको छ, ती मान्छेलाई किन छानबिनको दायरामा ल्याउने कोसिस भइरहेको छैन ? र अर्को दलको मान्छे पर्दा त्यहाँ सरकार कसरी प्रस्तुत भइरहेको छ ? भन्ने कुराले आशंका पैदा गर्छ ।’

सरकारको छानबिन निष्पक्षता कायम राखेर हुनुपर्ने विषयमा बैठकमा कुरा उठेको छ ।
बैठकपछि अर्का सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको बताए ।

‘सुनिल शर्माले कति गलत गरेका हुन् ? त्यो अनुसन्धान भएर कारबाही गर्नुपर्ने, नपर्ने छुट्याउने दायित्व पनि सरकारकै हो । तर उहाँ सुन तस्करीका विषयमा सरकारप्रति औंला उठाइरहेका व्यक्ति हुन्, यसकारण अहिले जुन ढंगले उहाँलाई पक्राउ गरियो, यो प्रतिशोध साँधेर गरेर गरिएको हो भन्ने प्रस्ट छ,’ केसीले भने, ‘यसले सुन तस्करीलाई रापसाफ पार्नका लागि, यसलाई डाइभर्ट गरेर अर्कोतिर लैजानका लागि गरिएको हो कि भनेर आशंका पैदा भएको छ ।’
उनले प्रतिपक्षको मागलाई नसुनेर संसद्लाई अवरोध पारिराख्नुभन्दा उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको जरोसम्म पुग्नुपर्ने बताए । उनले प्रकरणलाई नामेट पार्ने हो भने उच्चस्तरीय न्यायिक छानबिन आयोग नै गठन गरौँ भन्ने प्रस्ताव बैठकमा आफूले गरेको बताए ।

सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको दाबी गरे ।
‘यो २७ वर्षपछि मुद्दा उठाउनुपर्ने सान्दर्भिकता कहाँबाट आयो ? उहाँ कति दोषी हो ? कारबाही गर्नुपर्ने अवस्था हो कि होइन ? त्यो पनि अनुसन्धानकै कुरा हो । तर अहिले उहाँलाई प्रतिशोधात्मक ढंगले यो काम भएको छ,’ केसीले भने ।

बैठकमा संसद् सञ्चालनका विषयमा समेत छलफल भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update