Public Pana
मध्यपश्चिम विश्वविद्यालयका कर्मचारी आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका बहालवाला कर्मचारीहरूले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

विश्वविद्यालयले करारमा गरिरहेको शिक्षक–कर्मचारी भर्नाको विरोधस्वरूप हातमा कालोपट्टी बाँधेर आज शुक्रबार काम गरेका हुन् ।

उनीहरूले सेवा आयोगलाई जिम्मा नदिएर करारमा कर्मचारी भर्ना गरेको भन्दै विरोध जनाएका छन् ।
शुक्रबार विश्वविद्यालयका कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफ्ना मागहरू सुनुवाइ नभएकाले शुक्रबारदेखि आइतबारसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका थिए । 

यसअघि गएको मंगलबार पनि विभिन्न कर्मचारी संगठनहरूले करार सेवामा शिक्षक कर्मचारी भर्नाको विषयलाई लिएर विरोध जनाएका थिए । प्रजातन्त्रवादी कर्मचारी संघ, प्रगतिशील कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विश्वविद्यालयले तत्काल ‘ओएण्डएम’ गर्नुपर्ने, करार सेवामा शिक्षक, कर्मचारी भर्नाका लागि खोलिएका पछिल्ला विज्ञापन रद्द गर्नुपर्ने जस्ता माग गरेका थिए ।

विश्वविद्यालयस्थित रजिस्ट्रार कार्यालयमा दिइएका ती मागका बारेमा कुनै पनि छलफल तथा सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनस्वरूप हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा उनीहरूले गरेका हुन् ।

आइतबारसम्म पनि आफ्ना माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने कर्मचारी संगठनहरूले चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update