Public Pana
प्राधिकरणको दादागिरी, सूचनाबिना उडानमा रोक –सिम्रिक एयर

नागरिक उड्डयन प्राधिकरणले दादागिरी गरि बिना सूचना, कुनै दोष बिना उडानमा रोक लगाएकोमा सिम्रिक  एयरले आपत्ति जनाएको छ ।

प्राधिकरणले दिएको निर्धारित अवधि नसकिँदै र औपचारिक जानकारी नै नदिई हिजोदेखि उडानमा प्रतिबन्ध लगाएर मिडियाबाजी गरेको एयरले जनाएको छ ।

सिम्रिक एयरले आज शुक्रबार विज्ञप्ति जारी गरी प्राधिकरणले प्रेषण गरेको पत्रको अवधि अगावै बदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढंगले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी आफ्नो संस्थाको गरिमामा आँच पुर्याउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गराएकोमा खण्डन गरेको हो । 

कम्पनीले सेवा उपभोग गरेबापतको रकम प्राधिकरणलाई क्रमशः बुझाउँदै आएको र यी साउन २१ गतेको पत्र प्राधिकरणको वार्षिक खाताबन्दीका क्रममा देखिन आएको छुटफुट रकम जनाएको छ ।

‘सो छुटफुट रकमका सम्बन्धमा उक्त रकम यस कम्पनीको उडान विवरण, हिसाबसँग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहारमा रहिआएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षमा पनि पत्रमा उल्लेख भएअनुसारको विभिन्न स्थानको खातावही २०८०÷४÷२४ गते मात्र उपलब्ध भएको र हिसाब मिलानको क्रममै रहेकोमा लुक्ला विमानस्थलको हिसाब यकिन भई सोबमोजिमको छुट रकम भुक्तान भइसकेको र ताप्लेजुङ विमानस्थलको हकमा हिसाब सच्याउन निवेदन गरिएको जानकारी गराउँदछौं ।’

सिम्रिक एयरले काठमाडौँको हकमा भने उडान संख्या बढी हुने भएकाले हिसाब मिलानकै क्रममा रहेको, रुजु एवं मिलान हुनासथ भुक्तानी गर्नुपर्ने भएमा भुक्तानी गर्न प्रतिबद्ध र सक्षम रहेको जानकारी दिएको छ । प्राधिकरणले सिम्रिक एयरले भुक्तानी दिन नसकेको, वित्तीय रूपमा सबल नभएको भन्दै विभिन्न नियमावली देखाएर उडान रोकेको जनाएको छ । 

विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न बहानामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने र यो व्यवसायमा आबद्ध व्यवसायीहरूको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक–पटक बिनाकारण दुःख दिँदै आएको विज्ञप्तिमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update