Public Pana
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए

कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ ।

भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् । कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

कोरोना महामारीका समयमा सामान्यरुपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार यो एक वर्षमा भक्तपुर घुम्न आएको पर्यटकमध्ये ८६ हजार तीन सय ३४ जना दक्षिण एसियाली मुलुकका र ८१ हजार तीन सय १८ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र चीनका पर्यटक रहेका छन् ।

यसै आर्थिक वर्षमा पर्यटन शुल्कबाट रु १८ करोड ४० लाखभन्दा बढी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । जसमध्ये गैरसार्क राष्ट्रका पर्यटकबाट रु १४ करोड ३४ लाख र र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु चार करोड छ लाख पर्यटन शुल्क सङ्कलन भएको छ । आव २०७८/७९ मा भने यहीँ ५३ हजार पाँच सय ६० जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए ।

जसमध्ये गैरसार्क राष्ट्रका २२ हजार ८७ जना र सार्क राष्ट्र एवं चीनका ३१ हजार चार सय ७३ जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । आव २०७८/२०७९ मा रु चार करोड ८९ लाख मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो । जसमा गैरसार्क पर्यटकबाट रु तीन करोड २७ लाख र सार्क राष्ट्र एवं चीनका पर्यटकबाट रु एक करोड ५७ लाख ३६ हजार पाँच सय मात्रै पर्यटन शुल्क सङ्कलन भएको थियो ।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा भक्तपुर नगरपालिका क्षेत्रका सम्पदा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा एक लाख १४ हजार ९२ जना वृद्धि भएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

भक्तपुर आगमनमा वृद्धि भएका पर्यटकको सङ्ख्यामध्ये गैरसार्कबाट ६४ हजार दुई सय ४७ जना र सार्क एवं चीनका ४९ हजार आठ सय ४५ जना पर्यटक रहेका छन् । त्यस्तै आव २०७८/७९ को तुलनामा यस आव २०७९/८० मा रु १३ करोड ३१ लाख ३६ हजार चार सयले पर्यटन शुल्कबाट वृद्धि भएको छ ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इग्ङ्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्यूजील्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update