नेपाली फिल्म ‘बोबी’ की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ ।
आज शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राई लगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरे ।
कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाईका अनुभवहरु कवितामार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।
गुरुङले सार्वजनिक गरेको ‘सर्ट लिष्ट’ मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकको रुपमा ल्याउने सोच उनको छ । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।
‘भोलिका दिन म नरहुँला, समयले नदेला, ममा जोस् नहोला, मेरा कविताहरु त्यत्तिकै थन्किएर बस्लान्’, उनले थपिन् – ‘जे जति कविता तयार भयो । त्यो सुनाउनु पर्छ, देखाउनु पर्छ भनेर नेपाल आएकी हुँ ।’
अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् ।
कविता र उमेशलेसँग परिवारको सहमतिबिना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्बे पुगेका उनीहरुको प्रेमकथामा केही वर्ष अगाडि ‘बोबी’ फिल्म निर्माण भएको थियो । जुन फिल्ममा कविता र उमेश नै मुख्य भुमिकामा थिए । उनीहरुको जोडी र फिल्म दर्शकले रुचाएका थिए ।