Public Pana
कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध भएको छ ।

आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो।

अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन। सडक खुलाउन बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ ।

लेदोसहितको पहिराले सडकमा ठूलो क्षति पु-याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ चल्ने यातायात ठप्प भएका छन् ।

दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् ।

यस खण्डमा वर्षा हुँदासाथ पहिरो झरी रहँदा दक्षिण भेगमा हजारौँ यात्रु मर्कामा पर्दै आएका छन् ।

पहिरोको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीयवासीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरी रहेका छन् ।

अप्ठ्यारो भूगोल हुँदा समस्या समाधानमा निकै कठिनाइ भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update