‘राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास’एमाले अध्यक्ष केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताउनुभएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउनुभयो ।
उहाँले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताउनुभयो ।
“समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायमा बस्ने जनताको कुरा हो”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली जुनसुकै पूर्व–पश्चिम उत्तर–दक्षिण क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राख्नुभयो ।
अध्यक्ष ओलीले एउटै देशका भू–भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनपर्ने भनाइ राख्नुभयो । आदिवासी जनजातिको मात्र माग नभई सबैका लागि सामाजिक न्याय र समान अवसर मुलुकमा हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले मुलुकमा समाजिक न्याय र समान अवसरलाई बिथोल्ने प्रयास गर्न नहुने बताउनुभयो ।
जातीय द्वन्द्वका कारण धेरै देशले अस्तित्व गुमाएको भन्दै उहाँले विविधतामा समानता आवश्यक रहेको भनाइ राख्नुभयो । “असमानताको अन्त्य र विविधताको सम्मान हुनुपर्दछ ।
विविधता हाम्रो सम्पत्ति भएकाले कलहको विषय बनाइनु हँदैन”, उहाँले भन्नुभयो, “सद्भाव र पारस्परिक सम्बन्ध कायम गरिनुपर्दछ । त्यसका आधारमा अगाडि बढ्नुपर्दछ ।” उहाँले राज्य एउटा जातीय विशेषको नभई सबै नेपालीको रहेको बताउनुभयो ।
“यहाँ एउटा धर्म र जातविशेषको राष्ट्र हुनु हँुदैन । यहाँ विभिन्न जात, धर्मका मानिस छन् । राज्य सबैलाई समान सेवा दिन बनेको हुनुपर्दछ”, अध्यक्ष ओलीले भन्नुभयो, “त्यसैले हामीले सातै प्रदेशको नाम भूगोल, नाला खोलाको नामका आधारमा राखेका हाँै ।”
एमालेले समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा लडेको स्मरण गर्दै उहाँले एमालेलाई जातका नामका कसैले विद्वेष फैलाउन खोजेको बताउनुभयो ।
“कसैले जातका नाममा भावनात्मक बनाएर हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने त्यतिबेला देश जोगाउन सकिँदैन”, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले सबै जातजातिका भाषा, संस्कृतिका मानिस सबै भूगोलमा बस्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले पहिचान भन्ने कुरा साम्प्रदायिक नभई आफ्नो थर, जात र भूगोलमा गर्व हुने भनाइ राख्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:५५
प्रतिक्रिया दिनुहोस्