Public Pana
प्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, साधारण सेयर बिक्रीको तयारी

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार रु १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु छ अर्ब १० करोड रहेकामा आव २०७८÷७९ मा खुद नाफा फेरि बढेर रु १३ अर्ब ३७ करोड पुगेको थियो ।

गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब रु ८१ अर्ब रहेकामा अहिले बढेर करिब रु एक खर्ब १८ अर्ब पुगेको छ । प्राधिकरणको सञ्चित नाफा रु ११ अर्बबाट बढेर रु ३६ अर्ब ६७ करोड पुगेको छ ।

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवं सुदृढीकरणमा जोड दिइएको जानकारी दिनुभयो ।

यस्तै, उहाँले उत्पादनतर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिकरूपमा खपत वृद्धि तथा बढी भएको विद्युत् निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको बताउनुभयो । यस्तै संस्थाको नाफा बढाउँदै लगेर मुलुककै सबल, अनुशासित तथा सम्मानित संस्था बनाउने, विद्युत् उत्पादन बढाउने र चुहावट घटाउने, अधिकतम ग्राहकसम्म पहुँच विस्तार गर्ने, वित्तीय खर्च घटाउने काम गरेको उहाँको भनाइ छ ।

प्रसारण तथा वितरण लाइन तथा सबस्टेसन विस्तार र सुधार गर्ने, प्रशासन सुधार्ने र ग्राहकलाई नियमित, गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उत्पादन गर्न अहोरात्र क्रियाशील रहेको उहाँको भनाइ छ । दुई वर्षअघि करिब ८९ प्रतिशत विद्युतीकरण भएकामा अहिले ९५ प्रतिशत पुगेको समेत सो अवसरमा जानकारी दिइयो । समय–समयमा विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीका पूर्वाधार संरचनामा सुधार र सुदृढीकरण अगाडि बढाइएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकासहित देशका प्रमुख ११ सहरको सन् २०५० सम्ममा हुने विद्युत्को माग प्रक्षेपण गरी चरणबद्धरूपमा चार सय, दुई सय २० र एक सय ३२ केभीका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउन डिजिटल एनइए कार्यक्रमअन्तर्गत प्रसारण तथा वितरणतर्फका सबस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको छ ।

आयोजना निर्माणलाई तीव्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत् प्रसारण र वितरणतर्फका केही आयोजनाको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमनलाई तीव्र पारिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्राधिकरणले साधारण सेयर जारी गर्दै प्राधिकरणले निकट भविष्यमा साधारण सेयर बिक्री गर्ने भएको छ । त्यसका लागि वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकिएको छ ।

त्यस्तै प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । प्राधिकरणको क्रेडिट रेटिङ गराउँदा एए प्लस प्राप्त गरेको छ । यो भनेको संस्थाले आर्थिकरूपमा सबल रहेको स्पष्ट पारेको छ ।

उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महसुल बक्यौता असुलीलगायतलाई मानक मानी कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिइएको उहाँको भनाइ छ । आव २०७७÷७८ मा १७ दशमलव ३८ प्रतिशत रहेको विद्युत् चुहावट तीन दशमलव ९२ प्रतिशतले घटेर हाल १३ दशमलव ४६ प्रतिशत पुगेको छ । वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव ७६ प्रतिशतमा सीमित भएको छ ।

यसबीचमा मधेस, बागमती र गण्डकी प्रदेशमा सारभूतरूपमा पूर्ण विद्युतीकरण भएका छन् । कोशी प्रदेशमा ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ ।

कुल सात सय ५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट पाँच सय पाँच स्थानीय तह सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको छ । त्यस्तै दुई सय २७ वटा स्थानीय तहका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहहरूका अधिकांश स्थानमा सोलार, साना तथा लघुजलविद्युत्मार्फत विद्युतीकरण भएका छन् ।

आगामी दुई वर्षभित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारीका साथ काम भइरहेको छ । प्रतिव्यक्ति ऊर्जा खपत करिब दुई सय ३५ युनिट रहेकामा अहिले बढेर तीन सय ८० युनिट पुगेको छ ।

पछिल्ला दुई वर्षमा उद्योगको आठ सय एमभीए बराबरको विद्युत् लोड स्वीकृत गरिएको छ ।

प्र्राधिकरणका अनुसार काठमाडौँ उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत् वितरण प्रणालीलाई भूमिगत काम सुरु गरिए पनि केही ढिलाइ भएको छ । यस्तै ग्राहकलाई सिङ्गल फेज कनेक्सन तीन दिनमा र थ्री फेज मिटर १० दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसैगरी सहर उज्यालो कार्यक्रमअन्तर्गत ललितपुर, पोखरा, भरतपुरलगायत देशका आठ नगरपालिकामा ११ हजार पाँच सय सडक बत्ती र ६७ हाइमास्ट जडान सम्पन्न भएको जानकारी दिइयो । काठमाडौँलगायत २७ वटा पालिकामा सडक बत्ती जडान कार्य अगाडि बढाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update