Public Pana
दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । 

उनले आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् ।

‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन्,’ घिसिङले भने । यस्तै, प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यतिबेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।

यस्तै, विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको उनले जानकारी दिए । यस अवघिमा ८०० एमभीएको विद्युतको लोड स्वीकृत गरिएको घिसिङको भनाइ छ ।

उनले ९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको जानकारी दिएका हुन् ।

घिसिङले  राष्ट्रिय प्रसारणलाईनमा जडित बिजुलीको पहुँचमा उक्त जनसंख्या आएको बताए । यसमध्ये मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको उनले बताएका छन् । 

यस्तै, कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ ।

कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको घिसिङले बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update