Public Pana
बाढी र पहिरोबाट पछिल्लो ५० दिनमा ४१ जनाको मृत्यु, ३१ जना वेपत्ता, ५५ घाइते

पछिल्लो करिब ५० दिनमा मनसुनजन्य विपत्तिका घटनावाट ५० जिल्लामा गरि ४१ जनाको मृत्यु हुनुका साथै ३१ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपत्तिबाट ५० जिल्ला प्रभावित भएका छन् ।

गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य बिपतका घटनामा  परेर ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् ।

ती जिल्लामा विपतपुर्ण घटनामा  ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिनुभयो । अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् । विपदमा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ ।

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो ।

मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।

गृहमन्त्रालयले भारी बर्षाको सम्भावना अझै बाँकी रहेकाले बाढी पहिरोबाट आगामी दिनमा अझै ठुलो धनजनको क्षति हुन सक्ने भन्दै सर्तकता अपनाउन अपिल समेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update