Public Pana
आज सामुदायिक वन दिवस  :  प्रधानमन्त्रीद्धारा  शुभकामना

आज श्रावण २५, नेपालमा सामुदायिक वन दिवस मनाइँदैछ ।
विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फकोफन) ले जनाएको छ । 

हाल देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन्, जसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ ।

स्थापनाकालदेखि सामुदायिक वन अभियान नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित भएको मानिन्छ । यस अभियानले वन संरक्षण, सम्वद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण स्थान ओगटेको छ ।

नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छन् । हाल करीब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।  देशभरका २२ हजार २६६ सामुदायिक वनमध्ये एक हजार १०० भन्दा बढीमा त शत्प्रतिशत महिला सहभागिता छ । 

दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन् ।

उनले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा परिचित भएको उल्लेख गरे ।

सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जनसमुदायको अपनत्व र प्रतिवद्धता, नेपाल सरकारले लागू गरेको प्रगतिशील नीति, संस्थागत सुप्रबन्ध र कानूनी प्रावधानको कारण उक्त कार्यक्रम सफल भएको दाबी गरे ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update