Public Pana
प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि अवरोध गरेको छ ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिएका थिए ।

सभामुख घिमिरले थापालाई बोल्न समय दिएलगत्तै सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्ता पक्षका सांसदहरुका बीच बोल्दै थापाले एक सय किलो सुन प्रकरणमा तस्करलाई संरक्षण गर्ने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ आएकाले एमालेको विरोध जारी रहेको जनाए ।

सुन तस्करी काण्डको २२ दिन बित्दा पनि सत्ता पक्षले छानबिनका लागि कुनै मनसाय देखाउन नसकेको थापाले उल्लेख गरे । थापाले बोलिरहँदा सत्ता पक्षका सांसदहरुले उठेर विरोध गरिरहे भने सभामुख घिमिरेले उनीहरुलाई बस्न पटक पटक आग्रह गरेका थिए ।

थापाले बोलिसकेलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने अडान लिँदै आएको छ ।

‘देशका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्न संसद सुचारु गर्ने वातावरण बनाऔं’
एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले आजको लागि निर्धारित सम्पूर्ण कार्यसूची हटाइएको जानकारी गराउँदै साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले पटक पटक आसन ग्रहण गर्न अनुरोध गरेका थिए । उनले संसदलाई जनताका समस्याहरु छलफल गर्ने र देशका समस्याहरु समाधान गर्ने थलोका रुपमा विकास गर्नका लागि संसद चल्ने वातावरण बनाउन एमाले सांसदहरुलाई आग्रह गरे। एमाले सांसदहरुको नाराबाजीका बीच सभामुखले निरन्तर संसद चल्ने वातावरण बनाऔँ भन्दै पटक पटक आग्रह गरेका थिए ।

नाराबाजीकै बीच सभामुख घिमिरेले सांसदहरुलाई गरेको आग्रह :

हामी निक्कै लामो समयदेखि नेपालमा भइरहेका सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न चरणहरुबाट छलफलहरु गरिरहेका छौँ । यो छलफल गर्ने सन्दर्भमा मान्यज्यूहरुले राख्नु भएका कुराहरु पनि सदनमा जानकारी भइसकेको छ । मान्य सदस्यहरुले जानकारी गराइसकेपछि सरकारको तर्फबाट गृहमन्त्रीजीले राख्नु पर्ने कुरा पनि राख्नु भएको छ ।

अहिले देशमा बाढीपहिराले आक्रान्त भएको परिस्थिति छ । विभिन्न घटना परिघटना पनि घटिरहेका छन् । जनताको प्रतिनिधिको नाताले यहाँहरुले संसदमा राख्नु पर्ने कुराहरु पनि धरै छन् । यसको महत्वलाई ध्यानमा राखेर म मान्य सदस्यहरुलाई हाम्रो नियमित कारबाहीलाई अगाडि पनि बढाऔँ, र यो समस्यालाई पनि समाधान गर्नलाई हामी अगाडि बढ्दै जाऔँ ।

त्यस कारणले मान्य सदस्यहरु आफ्नो आसनमा फर्कनुहोस् । आसन ग्रहण गर्नुहोस् । र नियमित कार्यसूचीअन्तर्गत जनताका समस्याहरु राख्ने, छलफल गर्ने, यो काममा साथ दिनुहोस् भनेर म मान्य सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु ।

संसदलाई जनताका समस्याहरु छलफल गर्ने र देशका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नका लागि संसद सुचारु गर्ने वातावरण बनाऔँ । त्यसका लागि मान्य सदस्यहरु आसन ग्रहण गरेर आज निर्धारण गरिएको कार्यसूचीलाई कार्यान्वयन गर्ने वातावरण बनाउनका लागि म विशेष अनुरोध गर्दछु ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update