Public Pana
आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ । एमालेका सांसदले राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा प्रवेश गर्ने क्रममा सिटबाट उभिएर अवरुद्ध गरेका हुन् ।

राष्ट्रिय सभाको बैठकको सुरुमै एमाले सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना रहेको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । यस्तै एमाले सांसद विमला पौड्याल राईले प्रतिपक्षको माग पूरा गरेर संसद् चलाउनुपर्ने बताइन् । समिति बनाउँदा सरकारलाई घाटा नहुने उनको तर्क थियो ।

बैठकमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भने संसद् बैठक अवरुद्ध गर्दा जनसरोकारका विषयमा छलफल हुन नसकेको बताए ।

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन गरे छानबिन नै ओझेलमा पर्ने दाबी गरे । उच्चस्तरीय समिति गठन गरिए प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र छानबिन नै ओझेलमा पर्ने उनको भनाइ थियो । तत्काल प्रहरीलाई अनुसन्धानको जिम्मा दिइएको र त्यसपछि मात्रै आवश्यक परे समिति गठन गर्न सकिने उनको भनाइ थियो ।

बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न लागेपछि एमालेका सासदहरुले उठेर विरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।

राष्ट्रिय सभामा सांसदहरू सिटबाट उभिएपछि कार्यसूची अगाडि नबढाउने अभ्यास छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update