Public Pana
काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा

काठमाडौँ, २७ कात्तिक (रासस) : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला हुनुहुन्छ । उहाँहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विसं २०७४ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतले मतान्तरले पराजित गर्नुभएको थियो । उहाँले तत्कालीन समयमा २२ हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामले विरासत जोगाउन हम्मेहम्मे देखिन्छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले आठ वडा र एमालेले छ वडामा विजय हासिल भएको छ । एमालेका वडाध्यक्षले पाएको मतभन्दा कांग्रेस छ सय ३४ मतान्तरले अगाडि छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माओवादीका धमलालाई समर्थन गरेको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा कुल २१ हजार ७६ हुन्छ । विसं २०७४ को निर्वाचनमा चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डे पनि श्रेष्ठका लागि तगारो बन्नसक्नुहुन्छ । 

अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन राजनीतिक मुख्य एजेण्डा लिएर कल्पना  धमला मैदानमा उत्रिनुभएको छ । संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ । गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई विजयी गाह्रो हुने देखिन्छ । 

एमालेका कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना नयाँ कार्यकालमा पूरा गर्ने मुद्दा बोकेर चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँले राजनीतिमा युवालाई आकर्षण गर्न आगामी संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी नहुने बताउँदै आउनुभएको छ ।

साझा पार्टी नेपालबाट उम्मदेवारी दिनुभएका मिलन पाण्डेले शिक्षकलाई सांसदलाई भन्दा बढी तलब दिनुपर्ने माग उठाउँदै आउनुभएको छ । मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’रूपमा सांसदकै तहमा राख्नुपर्नेमा उहाँको जोड छ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलव–सुविधा र ‘मानार्थ’रूपमा मर्यादाक्रममा मन्त्रीसरह राख्ने उहाँको प्रमुख एजेण्डा छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । काठमाडौँ महानगरका १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४, १५, नार्गाजुन नगरपालिकाका ६, ७, ८, ९, १० वडा यस क्षेत्रभित्र पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँका दुई, चन्द्रागिरिका तीन र नागार्जुनका तीन वडामा विजय हासिल गरेको छ । एमालेले काठमाडौँका दुई, चन्द्रागिरिका दुई र नागार्जुनका दुई वडामा विजय प्राप्त गरेको छ ।

गत स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले १९ हजार नौ सय १६ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षले १९ हजार दुई सय ८२ मत ल्याएका छन् । त्यस्तैगरी माओवादी केन्द्रका वडाध्यक्षहरुले छ सय ९५ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले चार सय ६५ मत प्राप्त गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update