Public Pana
एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन्– ओली

चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताउनुएको छ ।  

    एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उहाँले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पार्नुभयो । “पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला”, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, “समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?” 

    दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उहाँको भनाइ थियो । उहाँले यो अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गर्नुभयो । ओलीले भन्नुभयोे, “यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।”

    ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिनुभयो । उहाँले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनःसम्भावना सुरु भएको बताउनुभएको छ । 

    एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु भएको बताउनुभयो ।  

    उहाँले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गर्नुभयो । उहाँलेमङ्सिर ४ पछि बन्ने एमालेको सरकारमा अशोक राई पुनःमन्त्री बन्ने सङ्केत पनि गर्नुभयो ।

    ओलीले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीनवटा अवसर रहेको बताउनुभयो । कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने । ओलीले मङ्सिर ४ पछि सर्भे सुरु गर्ने जानकारी दिनुभयो ।   

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update