Public Pana
गौर हत्याकाण्ड छानविन गर्ने सरकारको उदघोषपछि जसपाको आकम्मिक वैठक बस्दै

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक केहीबेरमा शुरु हुँदै छ ।  

‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बिचमा सहमति भएको थियो ।

उनका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् । 

सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।  

उनले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए ।

 तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको सांघातिक आक्रमणमा परि गौरमा ठुलो मानवीय क्षति भएको थियो । त्यसको मुख्य जिम्मेवारी तत्कालिन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई लाग्ने गरेको छ । 
  

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update