Public Pana
मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा

मछिन्द्र फुटबल क्लवले एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ । 

आज मंगलबार भएको प्रारम्भिकको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि बिमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे । त्यस्तै पारोले एक गोल उपाहार पाएको थियो भने अर्को गोल इभान्स असान्तेले गरेका हुन् ।

खेलको सातौं मिनेटमा उपहार गोलले पारो एफसीले अग्रता बनाएको थियो । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले क्लियर गर्ने क्रममा बललाई आफ्नो पोस्टतर्फ पन्च गर्र्न पुगेका थिए ।

खेलको १२ औं मिनेटमा मछिन्द्रले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । मछिन्द्रका लागि स्ट्राइकर बिमल घर्तीमगरले गोल गरेका हुन् । डिबक्सबाहिरबाट आयुष घलानले उपलब्ध गराएको बलमा हेडिङ गदै बिमलले गोल गरेका थिए ।

खेलका १६ औं मिनेटमा मछिन्द्रले आयुष घलानको गोलमा पारो एफसीविरुद्ध अग्रता बनायो । उनले बिमलको पासमा बक्सभित्रबाट सुन्दर गोल गरेका हुन् ।

खेलको ३९ औं मिनेटमा मछिन्द्रका लागि अफिज ओलाओलेले ओमोलाजा करिमको पासमा बक्सभित्रबाट गोल गर्दै मछिन्द्रलाई ३–१ गोलको स्थितिमा पुर्याए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा इभान्स असान्तेले पारो एफसीका लागि गोल गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update