Public Pana
कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो

अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सहत बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सहत बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताउनुभयो ।

उहाँका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका-७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताउनुभयो । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो ।

“घरभित्र पानी पसेपनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति छैन”, प्रवक्ता डाँगीले भन्नुभयो, “पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली पनि खटिएका छन् ।”

सुरक्षा निकायले यहाँको शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित स्याली नदीमा फसेका दुई र कृष्णपुर नगरपालिका-१ स्थित ओदाली खोलामा फसेका दई जना गरी चार जनाको उद्धार गरेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update