Public Pana
शीर्ष नेताबीच कुरो बिग्रेपछि  सूचना टाँसेर संसद बैठक स्थगित

 सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । तर, ४ बजे पनि बस्न नसकेपछि मंगलबार अपरान्ह ३ बजे बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । सोमबार पनि सूचना टाँसेरै बैठक स्थगित गरिएको हो । 

सहमति जुटाउन भन्दै सभामुख घिमिरेसहित प्रमुख दलका शीर्षनेताहरुको बैठक सोमबार दुईपटक बसेको छ । तर, सहमति जुटिसकेको छैन। 

यसअघि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन सकेको छैन । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update