Public Pana
संसदीय निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता ?

काठमाडौँ, २२ कात्तिक (रासस) : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर–घर पु¥याउन दिनरात खटिएका छन् ।

निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको हुनसक्छ ।

राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ ।

काठमाडौँ उपत्यका अन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधिसभाका लागि कायम १५ वटा सिटका लागि कुल तीन सय ६० उम्मेदवारमध्ये एक सय २८ जना त स्वतन्त्र उम्मेदवार नै छन् । जुन ३५ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी तीन जिल्लामा प्रदेश सभाका ३० सिटका लागि तीन सय ४० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । 

प्रतिनिधिसभा अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी छ । यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको सङ्ख्या १३ मात्रै छ । त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुरका २ निर्वाचन क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ निर्वाचन क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् । 

स्वतन्त्रको लहर
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेश कुमार केसी आफूहरुको लडाइ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउनुहुन्छ । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढ्नुको अर्थ राजनीतिक दलहरु ‘सिन्डिकेट’को विरोध भएको उहाँको भनाइ छ । 

“राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले स्थान पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरु अगाडि आउनु परेको हो, परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन”, उहाँले भन्नुभयो । 

केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्नुहुन्छ । “म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु,” उहाँले भन्नुभयो, “अब मुलुकको जिम्मेवारी युवाको काँधमा आएको छ, सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।” यो निर्वाचन मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइ समेत भएको उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवारहरुको देशैभरी फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उहाँले बताउनुभयो ।

केसीको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन र नेकपा (एमाले)का प्रेम बहादुर महर्जनका साथै आफू जस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका महर्जनले २०७४ सालमा नेकपा (एमाले)का उम्मेदवारकारुपमा २७ हजार सात सय १३ मत प्राप्त गरी विजयी हुनु भएको थियो । महर्जनसँग पराजित नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update