Public Pana
सिद्धबाबामा गुडिरहेको जिपमाथि पहिरो खस्दा, एकतर्फी सडक सञ्चालन

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सोमबार बिहान सुख्खा पहिरो खस्दा गुडिरहेको गाडी पुरिँदा तीन जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको गुडिरहेको गाडी सुख्खा पहिरोमा पर्दा चालकसहित तीन जना घाइते भएका हुन् । जिपमा सवार तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्षीय विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहित खसेको पहिरोमा जिप परेको प्रहरीले जनाएको छ । केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा हटाएर एकतर्फी खुलाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update