Public Pana
सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ ।

समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत तथ्य–प्रमाणविना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न थालेको हो ।

सो विषयमा सूचना तथा सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यमका जानकारहरुसँग परामर्श सुरु गरेको छ ।

यसै सन्दर्भमा मन्त्रालयले फेसबुक, इन्स्टाग्राम, ट्वीटर र ह्वाट्सएपको मातृ संस्था मेटा कम्पनीका दक्षिण एशिया हेर्ने प्रतिनिधिसँग यही साउन २५ गते छलफलका लागि तयारी गरेको छ भने नेपालका सामाजिक सञ्जाल सञ्चालनकर्तासँग पनि परामर्श लिँदैछ । यही विषयमा प्रेस काउन्सिल नेपालले पनि छलफल आयोजना गर्दैछ ।

सूचना तथा सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको उपयोग र दुरुपयोग बढ्दो छ भने मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन चुनौतीपूर्ण देखिएको छ ।

हाल सञ्चारमाध्यममाथि अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपालमा भए पनि व्यक्ति–व्यक्तिले सामाजिक सञ्जालमा राख्ने पोष्टमाथि अनुगमन गर्ने अधिकार कानुनतः कुनै निकायलाई दिइएको छैन ।

केही समयअघि नायिका आँचल शर्मा (दवाडी)ले आफू सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचनाबाट पीडित भएको सार्वजनिक गर्नुपरेको थियो । “गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु ।

यस्ता कुरामा धेरै ‘रियाक्ट’ नगरुँ भन्दाभन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु”, नायिका शर्माले ८ जुलाइमा आफ्नो फेसबुकमा लेख्नुभएको छ, “जस–जसले जसको उक्साहटमा यो सब गरिरहनुभएको छ, तपाईंहरुको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु ।

मलाई यातना दिएर सामाजिक सञ्जालमा ‘मेन्टल हेल्थ’को भाषण दिन कृपया बन्द गर्नुस् ।” ‘नेब रिजल्ट एण्ड अपडेट’ नामक फेसबुक पेजमा शर्माले एक पछिल्लो अन्तर्वार्ताका क्रममा निर्देशक दयाहाङ राईबारे अपमानजनक र गालीगलौजपूर्ण भाषा प्रयोग गरेको भनी भ्रमपूर्ण सामग्री पोस्ट गरेको थियो ।

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनका दिन अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीको प्रतिक्रिया विवादमा परेपछि डा कार्कीले युट्युबरले आफूले बोलेका विषयवस्तुलाई तोडममोड गरेर प्रसारण गरेको स्पष्टीकरण दिनुपरेको थियो भने त्यसपछि वास्तविक भिडियो सार्वजनिक भएको थियो ।

केही महिना पहिले सोही पार्टीका सांसद सोविता गौतमको विवाहका सम्बन्धमा पनि यथार्थ नबुझी व्यक्तिगत चरित्रहत्या गराउने खालका सामग्री सामाजिक सञ्जालमा भाइरल भएपनि सांसद् गौतमले त्यस्तो गर्ने सबैलाई एक–एक गरेर साइबर अपराधमा मुद्दा हाल्ने चेतावनी दिनुभएको थियो ।

साइबार अपराधका मुद्दलाई हाल नेपाल प्रहरीको साइबर ब्युरोले हेर्दै आएको छ । नायिका करिष्मा मानन्धरले पनि आफूलाई गलतरुपमा व्यक्तिगत विषयमा नाम जोडेका विषयमा सार्वजनिक आपत्ति व्यक्त गर्नुपरेको थियो । प

छि पीडकपक्षले माफी मागेपछि समझदारी भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update