Public Pana
शपथ लिएको ७७ दिनपछि चित्रकारलाई उद्योग मन्त्रालय

वाग्मती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्री नियुक्त भएको ७७ दिनपछि जिम्मेवारी प्राप्त गरेका छन् ।
जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको वाग्मती प्रदेशको मुख्य तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । 

वाग्मती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी उक्त मन्त्रालय खडा गरिएको हो । मन्त्रालय विभाजनको विषयमा लामो समयदेखि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद रहँदै आएको थियो ।

कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग राख्दै आए पनि माओवादीले आफ्नो भागमा परेको मन्त्रालय विभाजन गर्न नमान्दा विवाद सिर्जना भएको हो । जसकारण पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको आलोचना हुने गरेको थियो ।

सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री जम्कट्टेले मन्त्रालय विभाजनसँगै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका छन् ।

चित्रकार नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् । वाग्मती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update