Public Pana
प्रधानमन्त्री देउवा धनगढीमा : कार्यकर्ता भेटघाटमा व्यस्त

चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । आइतवारदेखि धनगढीमा रहनु भएका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ ।

 कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भन्नुभयो,“सम्पर्कमा आउने सन्तुष्ट असन्तुष्ट नेता कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाई बुझाई गरिरहनु भएको छ ।” 

   भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता कार्यकर्तासँग जानकारी लिइरहनु भएको छ । धनगढी आएपछि प्रधानमन्त्रीको त्यस्तो औपचारिक चुनावी कार्यक्रम भने भएको छैन । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेलधुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहनु भएका प्रधानमन्त्री देउवाले कात्तिक १७ देखि २० गते सम्म डडेलधुरामै बसेर विभिन्न पालिकामा भएका  सत्तागठबन्धनका चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । 

   यसै बीच प्रधानमन्त्रीका स्वकीय सचिब भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नुहुने बताइएको छ । कात्तिक २३ गते नै कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्नुहुने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update