Public Pana
भुक्तानीको व्यवस्था गर्नुपर्ने     :    निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति पछि उनले यस्तो बताएका हुन्।

आज आइतबार न्युज एजेन्सी नेपाल (NAN)सँग कुराकानी गर्दै अध्यक्ष सिंहले अर्थमन्त्री महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा विर्सन नहुने बताए । उनले सरकारले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नु पर्ने बताए ।

अध्यक्ष सिंहले सरकारले ऋण उठाएर, अनुदान मागेर, वैदेशिक ऋण लिएर वा र आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानीको सुनिश्चिता गर्नु पर्ने उल्लेख गरे ।

उनले भने, ‘विगतमा काम गरिसकेको ५० अर्बको भुक्तानी र एक वर्षमा म्याद थप गर्दै गरेको ४ खर्ब योजनाको भुक्तानी ऋण उठाउँछौं,अनुदान माग्छौं,वैदेशिक ऋण ल्याउँछौं र आन्तरिक ऋण उठाउँछौं जसरी उठाउनुहुन्छ उहाँहरुले त्यो भुक्तानीको सुनिश्चिता गर्नुपर्छ, यदि सरकारले त्यसो गर्न सक्नुहुन्न भने त्यो आयोजनाहरुलाई खारेज गर्नु पर्छ । जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम सरकारले गर्नु हुन्न ।’

अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए । उनले स्वीकार गरेर मात्रै नहुने भन्दै विगतको सरकारले गरेको कमजोरीको अपनत्व लिँदै भुक्तानीको व्यवस्था गर्नु पर्ने जिम्मेवारी अर्थमन्त्रीको भएको बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update