Public Pana
‘पूँजीपति वर्गले उद्योग–व्यवसाय सम्भ्रान्त परिवारभन्दा बाहिर लान दिएनन्’

नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले दलालको पछाडि रहेर पूँजीपति वर्गले नेताहरुसंगको सेटिङमार्फत नियतवस व्यापार, व्यवसाय र उद्योगधन्दा निश्चित सम्भ्रान्त परिवारभन्दा बाहिर लान नखोजेको आरोप लगाएका छन् । 

भक्तपुरमा आज  आइतबार आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति, ओम्नीजस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिँदै नेपालमा दलालका पछाडि बसेका पूँजीपतिले उद्योग–धन्दालाई उनीहरुको पहुँचभन्दा बाहिर लान नदिएको आरोप लगाए ।

उनले भने– ‘ओम्नी भनेको कमन हो । हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सर्टेज थियो । चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेरिकाले रद्द गर्यो ।

अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्, गलत गरे छानबिन गर्नु भनिराछौँ हामी । यति मात्रै होइन, गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अर्बौँ लगानी गरेर आज गोकर्ण रिसोर्ट, इज्जतको ठाउँ बनाएको छ ।

कतिलाई रोजगारी दिएको छ, कति स्थानीय बस्तुको प्रयोग भएको छ,’ एमाले नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप लगाए ।

‘एउटा नेपाली शेर्पाले यहाँ व्यवसाय गर्न खोज्छ, चन्द्र ढकालले चन्द्रागिरीमा त्यत्रो गरे यहाँ व्यवसाय गर्न खोजिराको छ, चाहिने– नचाहिने हल्ला गरेको छ, के भन्या छन्, यत्रो लिज भन्या छन् नियतवस निश्चित सम्भ्रान्त परिवारले बाहिर व्यापार, उद्योग र व्यवसाय लान खोजेको छैन् र त्यसमा निश्चित दलाल व्यवसायी उद्योगपतिहरुले नेताहरुलाई सेटिङ गरिराछन् । हामी जनताले कुरा बुझेका छैनौं, त्यत्तिकै कराको छौं, मिडिया त्यसै कराइदिया छ । सोसल मिडिया त्यसै बहकिएको छ’, बस्नेतले भने ।

नेता बस्नेतले सुन लगायतका प्रकरणमा एमालेलाई हल्लै–हल्लाको जुठो बनाएको भन्दै भ्रमको पछि नलाग्न जिकिर गरे ।

उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिएका नेता तथा तिनका छोरालाई चोखो बनाइएको भन्दै त्यसप्रति व्यंग्यसमेत गरे ।

उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दावी गरे । उनले नयाँ आएका पार्टीहरुलाई रछयानमा पलाएको मूलाको सागको संज्ञा दिए ।

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update