Public Pana
कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत

९२ दिनमा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने नेपालका  तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलाको आज भव्य स्वागत भएको छ ।
 

विश्वका १४ हिमालको सफल आरोहण गरी आज  शनिबार नेपाल आएका दुई आरोहीलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
 

उनले खादा र माला लगाइदिएर दुई कीर्तिमानी आरोहीलाई स्वागत गरिन्। राज्यमन्त्री सिर्पालीसँगै पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवम् आरोहीहरूको विमानस्थलमा उपस्थिति थियो ।
 

उनीहरूको स्वागतमा बाजागाजा समेत बजाइएको थियो ।
 

साउन ११ गते बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेका थिए ।
 

यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ ’निम्स दाइ’ को नाममा थियो । उनले ६ महिना ६ दिन लगाएर विश्वका १४ अग्ला हिमालको सफल आरोहण गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए ।
 

पुर्जाको रेकर्ड धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए । तर अहिले पुर्जाभन्दा आधा कम समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन् ।
 

योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ ।

 

1 himal1691214748.jpg


 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update