Public Pana
एनसेलको बाढी सम्बन्धी एसएमएसले ४४ लाख अलर्ट

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै, दुई महिनामै ४४ लाख अलर्ट भएका छन् । 

एनसेलले हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्युनिकरण गर्न योगदान पुर्याउँदै आएको छ ।
यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख ओटा भन्दा बढी बाढीसँग सम्भावित जोखिम बारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको छ ।

यो वर्ष एसएमएस मार्फत पुर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन् । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गदै आएको छ ।

यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन् ।

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ ।

११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update