तपाईंलाई आँखा बिझाउने, आँसु आउने, रातो हुने र पोल्ने जस्ता लक्षण देखिएको छ ? यदि छ भने यो कन्जन्टिभाइटिस अर्थात् आम बोलीचालीको भाषामा आँखा पाक्ने रोग हुन सक्छ ।
काठमाडौं उपत्यकासहित तराईका जिल्लाका अस्पतालमा अहिले यस्ता लक्षण भएका बिरामीको चाप बढेको छ । चिकित्सकहरुले यो लक्षण देखिएमा आफूखुशी औषधि प्रयोग नगर्न सुझाव दिएका छन् ।
आँखा पाक्ने रोगले प्रकोपको रुप लिएको भन्दै जनकपुर उपमहानगरपालिकाले साउन २१ देखि २६ गतेसम्म विद्यालयलगायतका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कन्जन्टिभाइटिसलाई बोलीचालीमा आँखा पाक्ने रोग पनि भनिन्छ । आँखा बिझाउने, आँसु आउने रातो हुने र पोल्ने यसका प्रारम्भिक लक्षण हुन् ।
वर्षातको मौसममा यो समस्या बढी देखिन्छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने चिकितसक बताउँछन् । अहिले अधिकांशमा भाइरल इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन् । चिकित्सकहरुका अनुसार सामान्यतया रुघाखोकी जस्तै यो रोग दुई साताभित्र आफैं निको हुन सक्छ । आँखा पाकेका व्यक्तिको आँसुको सम्पर्कबाट नै सर्ने यो रोग हावाबाट नसर्ने चिकित्सक बताउँछन् ।
आँखा पाकेमा चिसो तथा बरफले सेक्न, सफा पानीले आँखा सफा गर्न, घरबाहिर जाँदा कालो चश्मा लगाउन चिकित्सकको सुझाव छ । त्यसैगरी संक्रमितले आँखा छोएपछि राम्रोसँग हात धुने गरेमा अरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ । विद्यालयका बालबालिकामा छिटो सर्ने हुँदा अभिभावक र शिक्षक सचेत हुनुपर्छ ।
तराई मधेशका जिल्लाका साथै पहाडका जिल्लाका आँखा अस्पतालमा समेत आँखा पाक्ने रोगबाट संक्रमित भएका विरामीको चाप बढेको छ ।
नेपाल नेत्रज्योति संघका अनुसार नेपालका पश्चिमी जिल्लामा यो समस्या अन्यत्र भन्दा बढी छ ।
आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालले छुट्टै रेड आई क्लिनिक सञ्चालन गरेको छ ।
लक्षण देखिए लगत्तै नआत्तिन चिकित्सकले सुझाव दिएका छन् । तर चिकित्सको परामर्श भने लिनु आवश्यक हुन्छ ।